इटहरीः नेपाल सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न सबै नागरिकलाई नजिकको प्रशासन कार्यालयमा गएर आफ्नो परिचयपत्र दर्ता गर्न अनुरोध गरेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता लिन, पेन्सन बुझ्न, पासपोर्ट लिन, चलअचल सम्पत्ति खरिदबिक्री गर्न, बैंक तथा वित्तीय सँस्थामा खाता खोल्न तथा ऋण लिनसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको भन्दै दर्ता गर्न आव्हान गरेको हो । बत्ति तथा पानीको सेवा लिन तथा टेलिफोन सेवा लिनसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएकाले सबैले आफ्नो पालिकाको सम्बन्धित वडामा गई परिचयपत्रको लागि विवरण दर्ता गराउन परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारले अनुरोध गरेको हो ।
के के चाहिन्छ राष्ट्रिय परिचयपत्र बनाउन ?
राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकताको सक्कल प्रति, बुवा आमाको नागरिकताको प्रतिलिपि, उपलव्ध भएसम्म, नागरिकतामा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र अथवा पालिकाको सिफारिस आवश्यक पर्छ । त्यसैगरी, नागरिकले राहदानी लिएको भए सो को सक्कल तथा फोटोकपी, बसाइसराइ गरी आएको भए २०४० भन्दा पहिला आएकाले वडाको बसाइ प्रमाणित तथा अन्यले बसाइसराइको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्छ । विवाहितको हकमा नागरिकतामा पति पत्नीको नाम उल्लेख नभएको खण्डमा विवाह दर्ताको प्रमाणपत्र र एकल महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्र आवश्यक पर्ने बताइएको छ ।