इटहरीः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतको २०७८ कात्तिक ८ गतेको सजाय निर्धारण फैसला अनुसार इटहरी २ बस्ने २१ वर्षीय मन्दीप राईलाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार सवारी मुद्दामा २ वर्ष ११ महिना ८ दिन कैद र ६ सय रुपैयाँ जरिवाना भएपनि कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहँदै उनी फरार भएका थिए ।
विशेष सूचनाको आधारमा आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराई अदालतकै आदेशमा कैद भुक्तानीका लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।