इटहरीः झापाको भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहम्बद प्यारे मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसमेत बरामद भएको छ ।

यही असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट पसलभित्र रहेका विभिन्न कम्पनीका मोबाइल –२९  थान,  घडी २ थान र नगद रु ६१ हजार पाँच सय गरी जम्मा ५ लाख अठार हजार दुई सय रुपैयाँ मुल्य बराबरको चोरी गरेको भनी जानकारी पाएलगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राति पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये १ थान मोबाइल, मोबाइलका चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।