इटहरीः उदयपुरमा तीव्र गतिका कारण यात्रुवाहक बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
बुधबार दिउँसो पौने ४ बजेतिर कटारीबाट मैयाँखुतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो आफै अनियन्त्रित भइ सडकबाट पूर्वतर्फ पल्टिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार उक्त दुर्घटनामा कटारी–१३ का विष्णु राउतको मृत्यु भएको हो । टाउको र शरीरमा चोट लागेर घाइते भएका १८ वर्षीय राउतको बुधबार राति सवा ८ मा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कटारी–८ का २० वर्षीय राज ठकुरी, ५० वर्षिय इन्द्रबहादुर मगर र २२ वर्षीय मनोज ठकुरीका साथै ५५ वर्षीया उर्मिला ठकुरी सामान्य घाइते भएका छन् । कटारी–११ का १८ वर्षीय दिवस बस्नेत, ३५ वर्षिय कृष्णबहादुर बुढाथोकी, २२ वर्षीय दिपेश कोइराला र ५० वर्षीय निर्मल भुजेलको टाउको तथा शरीरमा चोट रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको कटारी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई भने सवारी र २८ वर्षीय चालक निरबहादुर खत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।