इटहरीः झापाको अर्जुनधारा नगरपालिका ३, खुदुनाबारीबाट प्रहरीले हात्तीको दाह्रा बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको जितपुर सिमरा उपमहानगरपालिका घर भई खुदुनाबारी बस्दै आएका २५ वर्षीय रमेश राई रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सीआईबीका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोका अनुसार फागुन २७ गते काठमाडौँ महानगरपालिका ३, चक्रपथस्थित होटल ओदानबाट विशेष सूचनाका आधारमा हात्तीको दाह्रासहित पक्राउ परेका तीन जनाउपर अनुसन्धान गर्दै जाँदा सोही घटनामा संलग्न रही फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा आज पक्राउ गरिएको हो ।

फागुन २७ गते १५.६८ किलो तौल भएको हात्तीको दाह्रासहित झापाकै भद्रपुर नगरपालिका–७ बस्ने ५८ वर्षीय भिमकुमार भनिने भक्तिकुमार लिम्बु,  वडा ७ चन्द्रगढी बस्ने ४२ वर्षीय अशोक कार्की र पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल बस्ने ४३ वर्षीय रमेश सुवेदी रङ्गेहात पक्राउ परेका थिए । अभियुक्त राईलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।