इटहरीः सुनसरीको धरान उपमहानगरभित्र एकैदिन धारिलो हतियार प्रहारका तीन वटा घटना भएका छन् । 

एकै दिन छुट्टाछुट्टै स्थानमा धारिलो हतियार प्रहारबाट ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानले बताएको छ । 

धरान उपमहानगरपालिका वडा नम्बर १६ जोरसखुवामा बिहीबार साँझ ७ः०० बजे धरान–१७ घर भई सियोन स्कुल नजिक डेरा गरी बस्ने टिकाराम राई अचानक धारिलो हतियार प्रहारमा परेका छन् । 

साथीहरुसँग कोठामा चिया खाइरहेको बेला टिकारामलाई  एक्कासी तीन चार जनाको समुहले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । इलाका प्रहरी कार्यालय धरानले सो घटनामा अन्य २ जनासमेत घाइते भएको जनाएको छ । घाइते हुनेहरुमा धरान–१६ कै ३१ वर्षका प्रदीप लिम्बू र धरान–९ का ३८ वर्षका टिका गुरुङ रहेका छन् ।

घटनामा टिकाराम राईको बायाँ कानको बीच भाग काटिएको छ भने प्रदीप लिम्बुको दायाँ छातिको तल्लो भाग र टिका गुरुङको दुवै हात र टाउकोमा काटिएको छ । 

घाइते सबैको धरानकै बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

बिहीबार नै धरान १६ को नौलो बस्तीका २५ वर्षका अर्जुन तामाङलाई समेत घरमा नै आई चिनेकै व्यक्तिले धरिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका छन् । उता धरान–२० कार्कीछापमा आफ्नै सालो तुलमान तामाङले भिनाजु वीरबहादुर तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

ऐलानी जग्गाको पुर्जा नभएको भनेपछि सालाले भिनाजुमाथि खुकुरी प्रहार गरेको पाइएको छ । पुर्जा छ कि छैन भन्दै सालाले भिनाजुलाई लालपुर्जा माग्दा भिनाजुले आफूसँग नभएको बताएपछि सोही क्रममा विवाद हुँदा सालाले भिनाजुलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट भिनाजु गम्भीर घाइते भएका हुन् ।

खुकुरी प्रहारबाट वीरबहादुरको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको पनि बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।