इटहरीः सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीबाट पाउनुपर्ने आम्दानीमा वर्षेनी गिरावट आउने गरेको छ ।
नेपाल सरकारले ११४ वटा संस्थान र अन्तर्राष्ट्रिय सँस्थामा ३ खर्ब ४२ करोड ८८ लाख रुपैयाँ लगानी गरेकोमा हालसम्म ८ वटा सँस्थाले १२ अर्ब ७५ करोड १३ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेका छन् । तर यी बाहेकका १०६ वटा संस्थानले अघिल्लो आर्थिक वर्षमा एक रुपैयाँ पनि लाभांश वा प्रतिफल दिएका छैनन् । सरकारका यी संस्थानमा लगानी ३ खर्ब ४५ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
यस्तै, सार्वजनिक संस्थानहरु को वार्षिक समीक्षा २०७९ अनुसार सञ्चालनमा रहेका ४२ संस्थानको विगत ३ वर्षको अवस्था हेर्दा १५ वटा सार्वजनिक संस्थान निरन्तर घाटामा रहेका छन् । आर्थिक वर्ष २०७७ ०७८ मा हेर्दा त्यस्ता सार्वजनिक संस्थनबाट सरकारलाई ३५ अर्ब १६ करोड ८८ लाख रुपैयाँ नोक्सान भएको छ ।
सार्वजनिक संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष २०७७ ०७८ को २०७८ जेष्ठ महिनासम्म लेखापरीक्षण नै गरेका थिएनन् । यसरी लेखापरीक्षणसमेत नगराउने सार्वजनिक संस्थानमा विशाल बजार कम्पनी लिमिटेड, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनीलगायत छन् । यी संस्थानले ९ वर्षदेखि लेखापरीक्षण नगराएको महालेखापरीक्षकको ५९ औँ प्रतिवेदनले स्पष्ट पारेको छ ।