इटहरीः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ८ बस्ने ६० वर्षीय डिल्लीराम ढकाल रहेको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । उनका अनुसार अभियुक्त ढकाललाई सुनसरी जिल्ला अदालतले २०६१ मङ्सिर १५ गते सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै २ वर्ष २ महिना ३ दिन कैद सजाय सुनाएको थियो ।

सजायको फैसला आएलगत्तै फरार भएका ढकाल आफ्नै गाउँघरमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा गाउँबाटै पक्राउ गरी प्रहरीले अदालतमा पेस गरेको हो । अदालतको आदेशमा कैद भुक्तानका लागि उनलाई झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।