इटहरीः सडक डिभिजन कार्यलय विराटनगरसँग भलुवा, सिमरियादेखि इनरुवा सडकखण्डको पुल निर्माण गर्न २०७४ साल कार्तिकमा सम्पन्न गर्नेगरी भएको ठेक्का अहिलेसम्म पनि सम्पन्न भएको छैन । 

कुल ८ करोड ९३ लाख ९३ हजार रुपैँयामा सम्झौता भएको उक्त पुल निर्माण पटकपटक गरी गत वर्षको चैत्र ३० गतेसम्म निर्माण सम्पन्न गर्ने म्याद थपिएको थियो । २०७१ मंंसिरमा सम्झौता भएको पुलको निर्माण ८ वर्ष पुग्दा पनि सम्पन्न नभएपछि महालेखापरीक्षकको कार्यालयले पुलको स्थलगत निरीक्षण गर्दा पुलको एकतर्फ मात्र बाटो भएको र अर्कोतर्फ सडकको पहुँच नै नभएको पाएको छ । 

निर्माण कम्पनीले अघिल्लो वर्षसम्म ५ करोड १० लाख ३१ हजार रुपैयाँ बराबरको रकम लगिसकेको महालेखाको प्रतिवेदनले खुलाएको छ । ५७ प्रतिशत भुक्तानी भइसक्दा पनि पुलको निर्माण कार्य हालसम्म पुरा नहुँदा सार्वजनिक स्रोतको अपव्यय भएको मलेपको ठहर छ । 

बुढी खोलामा लगाउन थालिएको सो पुलको ४ सय मिटर पर अर्को पुल भएकोले निर्माणाधीन पुलको औचित्य नै नभएको प्रतिवेदनले बताएको छ । ८ वर्ष ५ महिनासम्म निर्माण नसकेको र बाटो नै नभएको स्थानमा पुलको डिजाइन गर्ने र स्वीकृत गर्ने पदाधिकारीलाई जिम्मेवार बनाई पुलको निर्माण सक्न र प्रयोगमा ल्याउन महालेखापरीक्षकको कार्यालयले भनेको छ ।