इटहरीः महालेखापरीक्षकको कार्यालयले गरेको अघिल्लो आर्थिक वर्षको लेखापरीक्षणमा बढी बेरुजु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका तेस्रो नम्बरमा परेको छ । 

सुनसरीका २ वटा उपमहानगरपालिकामध्ये इटहरीको बेरुजु प्रतिशत ६.७६ प्रतिशत छ भने धरानको ३.६६ प्रतिशत बेरुजु देखिएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा म्याद नाघेको पेस्कीसमेत २२ करोड १५ लाख रुपैँयाँ बेरुजु देखिएको छ भने पेस्की मात्र ४२ लाख रुपैयाँ फस्र्यौट हुन बाँकी छ ।

इटहरी उपमहानगरको महालेखापरीक्षकले ३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँको लेखापरीक्षण गरेको थियो । धरान उपमहानगरपालिकाको पेस्कीमा ६२ लाख रुपैँया बेरुजु छ भने म्याद नाघेको पेस्की सहितको बेरुजु १२ करोड ४० लाख छ । धरानको ३ अर्ब २१ करोड ९३ लाख रुपैयाँको लेखापरीक्षण गरिएको थियो । 

मुलुकभरमा ११ वटा उपमहानगरमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेशको जनकपुरधाम उपमहानगरपालिकामा देखिएको छ । जनकपुरधाममा ७.८२ प्रतिशत बेरुजु देखिएको हो । उपमहानगरमध्ये सबैभन्दा कम बेरुजु नेपालगञ्ज उपमहानगरपालिकाको छ । यस पालिकाको बेरुजु जम्मा १.१४ प्रतिशत देखिन्छ ।