इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले बिनाप्रतिस्पर्धा एक करोड रुपैयाँभन्दा बढीको परामर्श सेवा लिएको पाइएको छ ।
सामान्यतया सार्वजनिक खरिद ऐनअनुसार १ लाख रुपैँयाभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद सोझै गर्न पाइँदैन । तर परामर्श सेवामा भने २० लाख सम्मको सेवा सोझै लिन सकिने व्यवस्था छ । ठूलो रकमको सेवा भएकाले योजनामा प्रतिस्पर्धा गरेर मात्र सेवा लिनुपर्नेमा इटहरी उपमहानगरले सूची दर्ता गरेकै भरमा परामर्श सेवा लिएको पाइएको हो ।
गत आर्थिक बर्ष २०७७÷०७८ मा इटहरी उपमहानगरपालिकाले १ करोड १४ लाख ३७ हजार रुपैयाँ बराबरको परामर्श सेवा सोझै खरिद गरेको लेखापरीक्षणको क्रममा देखिएको हो ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७० (१) मा सार्वजनिक निकायले २० लाख रुपैयाँभन्दा बढी मूल्यको परामर्श सेवा खरिद गर्न ऐनको दफा ३० बमोजिम सुचना प्रकाशन गरी आशयपत्र माग गर्नुपर्ने हुन्छ भने आशयपत्र दिने कम्पनीहरुमध्येबाट प्रतिस्पर्धा गराएर मात्र सेवा खरिद गर्न पाइन्छ ।