इटहरीः बहुविवाह मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक ८घर भई हाल मोरङ उर्लाबारी ५ बस्ने ४६ वर्षीय जीवनाथ भन्ने जीवननाथ कोइराला रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार झापा जिल्ला अदालतको २०६९ असोज २२ गतेको फैसलाबाट बहुविवाह मुद्दामा दोषी ठहर भई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएपछि फरार रहेका अभियुक्त कोइरालालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले हिजो बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्त कोइरालालाई झापा जिल्ला अदालतमा पेस गरी अदालतको आदेशअनुसार कैद भुक्तानीका लागि झापा जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।