इटहरीः मोरङको विराटनगर महानगरपालिका १६ स्थित साथीको घरमा अचेत अवस्थामा भेटिएका एक प्रहरी जवानको उपचारका मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर घर भई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दरबन्दी भएका २८ वर्षीय प्रहरी जवान उत्तम लावती रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार सर्लाहीबाट झापाका लागि रवाना बुझेर साथीलाई भेट्न भनी विराटनगर आएका उनी शुक्रबार राति साथीकै घरमा सुतेकोमा बिहान अचेत अवस्थामा फेला परेका थिए ।
अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा बिहान ७ः३० बजे उनको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको बताउँदै मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र बताउन सकिने प्रहरीले जनाएको छ ।