इटहरी: सुनसरीको बराहाक्षेत्र नगरपालिकाले कार्यक्षेत्र यकिन नगरी हतारमा औद्योगिक ग्राम निर्माण गर्दा सरकारी कोषको २० लाख ६९ हजार रुपैयाँ स्वाहा भएको छ ।
नगरपालिकाले औद्योगिक ग्राम निर्माण गर्ने योजनाअनुरुप वनको जग्गामा निर्माण कार्य सुरु गरेकोमा पछि जंगल क्षेत्रमा निर्माण कार्य गरेको जनाउँदै सो रकम स्वाहा बनाएको हो । आर्थिक वर्ष २०७७÷०७८ मा सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाले औद्योगिक ग्राम बनाउने योजनाअनुरुप योजनाको कम्पाउण्ड वाल लगाउने कार्यको ठेक्का सम्झौता गरी दोस्रो रनिङ्ग बिलको भुक्तानी हुँदासम्म कामलाई निरन्तरता दिएको थियो ।
दोस्रो रनिङ्ग बिलसम्म २० लाख ६९ हजार खर्च गरिसकेपछि सुनसरी डिभिजन वन कार्यालयले निर्माणस्थल जंगल क्षेत्रमा रहेको भन्दै निर्माण कार्य रोक्का गर्न निर्देशन दिएको थियो । नगरपालिकाले कार्यक्षेत्र निर्धारण नगरी योजना सञ्चालन गर्दा जनताको करबाट संकलन भएको ठूलो रकम स्वाहा भएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहले विनियोजन गरी खर्च गर्नुअगावै योजनाको क्षेत्र निश्चित गर्नुपर्ने व्यवस्था भएपनि सोको बेवास्ता गर्दै नगर सरकारले जंगलको जग्गामा औद्योगिक ग्रामको निर्माण कार्य सुरु गरेको थियो ।