इटहरीः मोरङ्गको केराबारी र मिक्लाजुङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७७÷०७८ मा खोला ठेक्कामा बेइमानी गरेको पाइएको छ ।
गाउँपालिकाले खोला ठेक्का सम्झौता गर्दा पारित भएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले प्रमाणित गरेभन्दा बढी खोला उत्खनन गरी गिट्टी तथा बालुवा बेचेको पाइएको हो ।
ढुङ्गा गिट्टी तथा बालुवा उत्खनन् र बिक्री तथा व्यवस्थापन मापदण्डअनुसार वातावरणीय प्रभाव परीक्षण प्रतिवेदनभन्दा बढी उत्खनन् गर्न पाइँदैन । तथापि मोरङ्ग जिल्लाको केराबारी गाउँपालिकाले उत्खनन तथा बिक्री गर्न पाउनेभन्दा बढी परिमाणमा नदीजन्य वस्तु उत्खनन गरी ९७ लाख ९४ हजार रुपैयाँ बराबरको हिनामिना गरेको पाइएको छ ।
ढुङ्गा तथा गिट्टी के कति उत्खनन भएको हो भन्ने अनुगमनका क्रममा पाइएअनुसार मिक्लाजुङ्ग गाउँपालिकाले पनि ३३ लाख ८८ हजार रुपैयाँ मूल्यको वस्तु बढी उत्खनन गरी बिक्री गरेको छ । यी दुवै गाउँपालिकाले नियमविपरीत १ करोड ३१ लख ८२ हजार रुपैयाँ बराबरको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन गरेको अनुगनले देखाएको थियो । दुवै गाउँपालिकालाई महालेखापरीक्षकको कार्यालयले उक्त रकम सञ्चित कोषमा दाखिला गर्न गर्न निर्देशन दिएको छ ।