इटहरीः इनरुवा नगरपालिकाले पहुँच नभएका कर्मचारीको मात्र करार नवीकरण नगरेको भन्दै करार नवीकरण नभएका कर्मचारीले नगरपालिकामा आन्दोलन गरेका छन् । 

नगरपालिकाले पहिले ८० जनाको सूची तयार गरेको तर नेताका आफन्त तथा आसेपासेलाई ननिकाली अन्यलाई मात्र करार सेवाबाट हटाएको भन्दै कर्मचारीले आक्रोश व्यक्त गरेका छन् । 

कर्मचारीहरुले लोकसेवा प्रक्रियाबाट कर्मचारी ल्याउनुपर्ने, नातावाद वा कृपावादका भरमा नियुक्ति गर्न नहुने र विभेदपूर्ण निर्णय खारेज गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् । 

नगरपालिकाले सँगै भर्ति भएकी उपमेयरकी छोरी शोभा निरौला, सीताराम मेहताकी नातिनी सम्झना मेहता, केदार भण्डारीका साला राजु तिम्सिना, वडाध्यक्ष अनिल पोखरेलका सानिमाका छोरा प्रेमचन्द्र ढुङ्गेललगायत कांग्रेससम्बद्ध कर्मचारीलाई जोगाएको र अन्यलाई मात्र निकालेको भन्दै निर्णय खारेज गर्न कर्मचारीले माग गरेका छन् । 

१८७ जना कर्मचारीमा ५७ जना मात्र कुन आधारले निकालियो भन्ने प्रश्नको जवाफ मेयरले दिनुपर्ने भन्दै कर्मचारीले आक्रोश पोखेका छन् । 

करारनामा नवीकरण नभएका कर्मचारीहरुले आफूसँगै नियुक्त भएका अन्य सबै कर्मचारीलाई निकाल्नुपर्ने माग राखेका छन् । उनीहरुले कतिपय करारमै रहेका कर्मचारीहरु पनि  लोकसेवाजस्तै मापदण्ड पूरा गरेर आएका कारण अनाहकमा पहुँच नभएकाहरुलाई निकाल्ने काम गलत रहेको बताएका छन् । 

नेकपा एमालेका तर्फबाट गत स्थानीय निर्वाचनमा मेयरका प्रत्यासी रहेका सरोजकुमार पोखरेलले नगरपालिकाका मेयर केदार भण्डारीले आफ्ना आसेपासे र सहयोगीलाई ननिकाली बाँकी करारका कर्मचारीलाई मात्र करारबाट हटाएको आरोप लगाएका छन् । 

इनरुवा नगरपालिकाले विभिन्न पदका ५७ जना कर्मचारीको करारनामा आज आइतबारबाट नवीकरण नगर्ने भन्दै सूचना सार्वजनिक गरेको थियो । करारनामा नवीकरण नहुनेहरुमा नगर प्रहरीका असइसहित, अहेब, अनमी, इन्जिनियर, कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटरलगायत छन् ।