इटहरीः उदयपुरको बेलका नगरपालिका–१ बाट अवैध लागूऔषध ट्याब्लेटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिबार राति ७ः४५ बजे तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–५ का २४ वर्षीय सुदीप राई, २७ वर्षीय प्रदीप बस्नेत तथा चौदण्डीगढी नगरपालिका–२ का २१ वर्षीय ठगिन्द्र मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाइजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाइन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्जसमेत बरामद गरेको छ । 

लागूऔषधसहित पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।