धरानः धरानमा ३ महिनामा १८ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले ३ महिनामा १८ फरार प्रतिवादी पक्राउ गरेको हो । कार्यालयले विभिन्न मुद्दामा कैद सजाय फैसला भई फरार सूचीमा रहेका १८ प्रतिवादी पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय धरान डीएसपी बुद्ध श्रेष्ठले २०७१ सालदेखिका फरार रहेका प्रतिवादी पक्राउ गरेको बताए । कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी लागूऔषधका फरार प्रतिवादी पक्राउ परेका छन् ।
लागूऔषधसहित रोशन तामाङ, दिनेश श्रेष्ठ, देउकुमार तामाङ, मुकुन्द भनिने मुकुन्दराज बिष्ट, सन्तोष भनिने तारादेव राई, गङ्गा भनिने कविता मग्राती, सरोज लिम्बू र दिलकुमार लिम्बू पक्राउ परेका हुन् । बहुविवाहमा मञ्जुमाया तामाङ, लेनदेन बिगोमा अनिता गुरुङ र सुरेश श्रेष्ठ पक्राउ परेका छन् । बैङ्किङ कसुरमा तान्छोमा लिम्बू र राजेन्द्र थापा मगर पक्राउ परेका छन् । सरकारी छाप दस्तखत किर्ते अभियोगमा यवराज गुरुङ पक्राउ गरेका छन् । सवारी ज्यान कसुरमा सञ्जिव राई र वनसम्बन्धी कसुरमा बाबुराम श्रेष्ठ र धनबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।