धरानः बराह ग्रुपसहित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको चलअचल सम्पति रोक्का गर्न माग गर्दै बराह सहकारीपीडित सङ्घर्ष समितिले केन्द्रीय सहकारी विभागमा निवेदन दिएको छ ।
आइतबार पीडित सङ्घर्ष समितिले धरान उपमहानगरमार्फत् केन्द्रीय सहकारी विभागमा निवेदन दिएको हो । समितिले ग्रुप अफ कम्पनी र सहरकारी सँस्थाका सञ्चालकहरूलाई विदेश जान रोक लगाउन पनि माग राखेको छ । सङ्घर्ष समितिका प्रवक्ता प्रदीप बास्तोलाल विभागमार्फत् कम्पनी रजिस्ट्रारको कार्यालयमा पनि निवेदन दिएको बताए । बराह ग्रुप अफ कम्पनीका सञ्चालकसहित सहकारीको सञ्चालक समिति, पूर्वसञ्चालक, उपसमिति व्यवस्थापक र कर्मचारीहरूको चलअचल सम्पत्ति र बैंक खाता रोक्का गरी शेयरधनी र बचतकर्ताको लगानी फिर्ता दिलाउन माग गरी निवेदन दिएको बास्तोलाले बताए ।
पटकपटकको सम्झौता उल्लंघन गरेको र बचतकर्ताको रकम फिर्ता नगरेकाले कानूनी रुपमा अघि बढेको उनले उल्लेख गरे । समितिले ३ सय ७ जनाको हस्ताक्षरसहित निवेदन दिएको हो । समितिले बराह ग्रुप अफ कम्पनीका सञ्चालक तथा अध्यक्ष शिवकुमार लामिछाने, बराह बचत तथा सहकारी सँस्थाका अध्यक्ष मानबहादुर दियाली (विक), उपाध्यक्ष तथा सञ्चालक विष्णुमाया विक (लामिछाने), सञ्चालक गंगा कालिकोटे, विष्णुकुमार तुलाधार, अम्बरबहादुर विश्वकर्मा, शुभराज खाती र फूलमाया राईको चलअचल सम्पत्ति र बैङ्क खाता रोक्का गर्दै विदेश जान पनि रोक लगाउन निवेदन दिएको छ ।
साथै सहकारी सँस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक सुदिन विक, लेखा सुपरिवेक्षण समिति सदस्य, शर्मिला ताम्राकार, कुमार विक र श्रीमान महत क्षेत्रीलगायत उनीहरुका आफन्तको चलअचल सम्पत्ति र बैङ्क खाता रोक्का गरी विदेश जान समेत रोक लगाउन माग गर्दै समितिले निवेदन दिएको हो । । निवेदनमा बराह सहकारीका सञ्चालकले पटकपटक भाका दिएपनि बचतकर्ताको रकम फिर्ता नगरी सञ्चालकहरू बेपत्ता भएको निवेदनमा उल्लेख गरेका छन् । सहकारीले उपमहानगरको छानबिन समितिलाई समेत कच्चा विवरण पेस गरेको छानविन समितको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले कुल बचत ५७ करोड ९० लाख ८६ हजार तीन सय ९५ रुपैयाँ ३९ पैसा रहेको विवरण पेस गरेको छ । तर पीडित सङ्घर्ष समितका वडास्तरमा बनेका उपसमितिले गरेको प्रारम्भिक सर्वेक्षणले ८ अर्बभन्दा बढी रकम बचत रहेको समितिका प्रवक्ता बास्तालालो बताए । सहकारीले कुल लगानी ६७ करोड १६ लाख ५९ हजार २ सय ८ रुपैयाँ देखाएको छ ।