इटहरी: अख्यितार दुरुपयोग अनुसन्धान आयोगले गरेको २५ वटा स्टिङ अप्रेसनबाट ३८ जनालाई भ्रष्टाचार गरिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको छ ।

यसरी पक्राउ परेका ३८ जनामध्ये २६ जना सरकारी कर्मचारी रहेका छन् भने ६ जना बिचौलिया र ६ जना निर्वाचित पदाधिकारी रहेका छन् । अख्तियारले गत आर्थिक वर्षमा देशैभरि गरेको स्टिङ अप्रेसनमा उनीहरु परेका हुन् ।  

यसैगरी गत आर्थिक वर्ष २०७८÷०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ सय ८ जना राष्ट्रसेवक कर्मचारीसहित ६३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

विशेष अदालतमा दायर गरिएका १३१ मुद्दामा ६३९ जना प्रतिवादी रहेकोमा १ जना भुतपूर्व मन्त्री , १ सय ५५ जना निर्वाचित तथा मनोनित पदाधिकारी र विशिष्ट श्रेणिका ३ जना राष्ट्रसेवक कर्मचारी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् । 

अख्यितारबाट विशेष अदालतमा मुद्दा खेप्नेमा सबैभन्दा बढी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याउने ३५ वटा मुद्दा रहेका छन् भने गैह्रकानूनी लाभ लिने मुद्दा ३४ वटा र सेवाग्राहीसँग घुस लिने मुद्दा ३२ वटा रहेका छन् । 

त्यसैगरी, नक्कली शैक्षिक प्रमाणपत्रका ६५ वटा, राजश्व हिनामिनामा ५ वटा र गैह्रकानूनी सम्पत्ति आर्जनका ७ वटा मुद्दा अख्यितारले विशेष अदालतमा दायर गरेको छ । 

विशेष अदालतमा पेस भएका मुद्दामध्ये ११३ वटा फैसला भइसकेको जसमा भ्रष्टाचारजन्य कसुर भएको मुद्दाको संख्इा ८१ रहेको बताइएको छ । 

अख्यितारमा गत आर्थिक वर्षमा मात्रै २४ हजार २४१ वटा मुद्दा दर्ता भएका थिए, जसमा १७ हजार ९८ वटा मुद्दा फछ्यौट भइसकेका छन् भने ८२० वटा मुद्दा विस्तृत अनुसन्धानमा गएका छन् । अघिल्लो आर्थिक वर्षमा ५१० वटा मुद्दा  विस्तृत अनुसन्धानमा तानिएका थिए भने २२ हजार ६२५ वटा उजुरी अख्तियारमा परेका थिए । 

अख्यितारमा सबैभन्दा बढी लिखित निवेदनमार्फत् ४ हजार ४९५ उजुरी दायर भएका थिए भने इमेलमार्फत् २ हजार ७ सय ५७ उजुरी र आयोगको वेवसाइटबाट २ हजार १ सय ६५ उजुरी परेका थिए । अख्यितारमा टेलिफोनबाट ७५०, मोबाइल एसएमएसबाट ४ , फेसबुकबाट ९३ र भाइबरबाट १५ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भण्डारीले जानकारी दिए ।