इटहरीः सरकारले सवारीसाधनको आयात प्रतिबन्ध जारी राखेपछि भदौ महिनाको पहिलो साता हुने भनिएको नाडा अटो शो नहुने भएको छ । 

सरकारले आइतबार आयात प्रतिबन्धको अवधि ४४ दिन थपेको थियो । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी आगामी भदौं १४ गतेसम्म आयातलाई थप कडाइ गर्दै प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेपछि नाडा अटोमोबाइल्स एसोसियसन नेपालले भदौं पहिलो साता हुने भनिएको सवारीसाधनको कुम्भ मेला स्थगित गर्ने भएको हो ।

आयात ठप्प भएकाले सवारी र सोसँग सम्बन्धित कुम्भ मेला रद्द गर्नुपरेको नाडाले जनाएको छ । नाडाले सरकारका कारण  दुई वर्षपछि हुन लागेको नाडा अटो शो स्थगित हुने निश्चित भएको बताएको हो । 

सरकारले सवारीलाई अनुत्पादक क्षेत्रसँग जोड्दै विलासिताका सवारी आयातमा प्रतिबन्ध लगाएको छ । नाडाले साउन १ गतेपछि सवारीसाधन आयात खुलाउन विभिन्न मन्त्रालयलाई गुहारे पनि सुनुवाइ भएको छैन । 

सवारी बिक्रेता कम्पनीहरुसँग भएका गाडीका स्टक सकिएको र नयाँ सवारी ल्याउन नपाएको व्यवसायीले बताएका छन् ।