इटहरीः सुनसरीको इनरुवा नगरपालिकाले बर्खास्त गरेका करारका कर्मचारीले जागिरबाट निकालिएको दोस्रो दिन सोमबार पनि नाराबाजी र आन्दोलन जारी राखेका छन् ।
करार सम्झौताको म्याद सकिएपछि म्याद थप नगरी बिदा गरिएका कर्मचारीले गरेको आन्दोलनका कारण आइतबारदेखि नगरपालिकासहित दश वटा वडा कार्यलयको कामकाज प्रभावित बनेको छ ।
आन्दोलनकारीहरुले कालो ब्यानरसहित नगरपालिकाअगाडि प्रदर्शन गरेका छन् । उनीहरुले ‘केदार तिम्रो पाराले दुःख पाए साराले’ भन्दै नगरप्रमुख केदार भण्डारीलाई व्यंग्य गरेका छन् । यसैगरी, उनीहरुले ‘वकिल साहेव न्याय दे’ भन्दै करारका १६७ जना कर्मचारी रहेकोमा सबैलाई निकाल्नुपर्ने वा सबैलाई राख्नुपर्ने माग गरेका छन् ।
निकालिएका कर्मचारीले करारका कर्मचारीलाई समान व्यावहार गर, लोकसेवाको मुल्य मान्यतालाई आत्मसात गर, बेथिति विसंगति हटा, उचित न्याय दे, नातावाद कृपावाद अन्त्य गर भन्दै कालो ब्यानर बोकेर नगरपालिकाको गेटअगाडि प्रर्दशन गरिरहेका छन् ।
नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै विभिन्न पदका ५७ जना कर्मचारीलाई साउन १ गतेबाट करारनामा नविकरण नहुने भन्दै तीन दिनभित्र बुझबुझारत गर्न अनुरोध गरेको थियो ।