काठमाडौँः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
वडा नं. १३, १४, १५ र २६ का सडक खानेपानी वितरणका लागि भन्दै खनिएका छन् । तर, लामो समय बिते पनि कालोपत्रे नभए पछि उनले कहिले कालोपत्रे हुन्छ भन्दै प्रश्न गरेका छन् । कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार बालेनले एकपछि अर्को प्रश्न गरेका थिए । यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नं. २, ३, ४ र ५ को काम कसरी हुँदैछ ? काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीलाई उनले प्रश्न गरे ।
विद्युत् प्राधिकरणका पदाधिकारीलाई वडा नं. ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, मालीगाउँ, कालोपुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कहिलेसम्ममा पुनःस्थापना हुन्छ भन्ने प्रश्न गरे । बैठकमा सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत् प्राधिकरणलगायत कार्यालयका पदाधिकारीले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताएका थिए ।
पाइप तथा बिजुलीका तार बिछ्याउन खनिएका सडक पानी पर्न छाडेपछि कालोपत्रे हुने उनीहरूले भनाइ राखे । प्रमुख साहले सहर व्यवस्थापनका लागि आचरण सुधारको खाँचो रहेकामा पनि जोड दिए । सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा परिवर्तन आउने उनले धारणा राखे । प्रमुख शाहले भने, “सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहरमैला व्यवस्थापनजस्ता कामका लागि पहिला सफ्टवेयरमा काम गरौँ, त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ ।” -रासस