इटहरीः धनकुटाको पाख्रिबास नगरपालिकाका उपमेयरले मेयरको आदेशबिना नै कार्यपालिका बैठक डाकी केही कर्मचारीको करार अवधि जबर्जस्ती थप गरेको आरोप लागेको छ । 

पाख्रिबास नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार राईले सोमबार एक सूचना जारी गर्दै नगरपालिकाकी उपमेयर नम्रता गौतमले मेयरको आदेबिना नै आफ्नै अध्यक्षतामा कार्यपालिका बैठक राखी आफूलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा जबर्जस्ती माइन्युट गराई हस्ताक्षर गराएको बताएका हुन् । 

राईले पाख्रिबास नगरपालिकाका नगरप्रमुखलाई प्रमुख प्रशासकीय अधिकृतमार्फत् पत्र लेख्दै आफूलाई उपमेयर गौतमले जबर्जस्ती पत्रमा र निर्णयहरुमा हस्ताक्षर गर्न लगाएको बताएका छन् । 

उपमेयर गौतमले म्याद थप नभएका केही करारका कर्मचारीको म्याद थप गर्न आफूलाई प्रयोग गरेको र सो सूचना फेसबुक पेज र वेबसाइटमा समेत प्रकाशन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राईले बताएका छन् । 

उनले उक्त बैठकमा गरिएका निर्णयहरु करकारपमा गराइएको हस्ताक्षरलाई आधिकारिक रुपमा नलिनसमेत अनुरोध गरेका छन् । पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई समेत दिइएको छ ।

288421520_1269385017164388_4273962134757742648_n