इटहरीः मोरङको विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडमा अचेत अवस्थामा भेटिएका एक युवकको सोमबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका–७ का अन्दाजी ३० वर्षीय अमित खवास रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अचेत अवस्थामा सडकको छेउमा भेटिएका उनलाई उपचारार्थ कोसी अस्पताल लगिएकोमा तत्कालै चिकित्सकले उनलाई मृत घोषित गरिदिएका थिए ।

मृतकको शव सोही अस्पतालमा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।