इटहरीः मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमाा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ६ घर भएका ४३ वर्षीय काजिमान पुरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त पुरीले गत माघ ५ गते आफ्नै घरमा लगेर बालिकालाई बलात्कार गरेका थिए । बालिका बलात्कृत भएको परिवारजनले थाहा पाएपनि क्षतिपूर्ति भराउने शर्तमा मौखिक मिलापत्रमा अभियुक्तलाई छोडिएकोमा पीडित बालिकाका बाबुले प्रहरीमा उजुरी दिएपछि अभियुक्त पुरी हिजो सोमबार पक्राउ परेका हुन् ।
घटना हुँदा पीडितका बुबा जागिरका सिलसिलामा जिल्लाबाहिर गएका थिए । बुबा घरमा आएपछि मात्रै घटना सार्वजनिक भएको हो । छोरीलाई पिसाबमा समस्या आई डाक्टरलाई देखाउँदा पनि निको नभएपछि छोरीले नै घटनाबारे जानकारी दिएको पीडितका बाबुको भनाइ छ । अभियुक्त पुरीले बालिकाकी आमालाई घटनाबारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएकाले आमाले घटना लुकाएको उनले उल्लेख गरे । पक्राउ परेका अभियुक्त पुरीलाई जिल्ला अदालतको आदेशमाा जबर्जस्ती करणी मुद्दामा कारबाहीका लागि हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।