इटहरीः प्रदेश नम्बर १ सरकारको सहयोगमा निर्माण गरिएको इटहरी चौकको स्मार्ट ट्राफिक लाइटको मङ्गलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका छन् । 

इटहरी चोकमा हुने सवारी अस्तव्यस्तालाई व्यावस्थापन गर्न जडान गरिएको ट्राफिक लाइट उद्घाटनसँगै सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले लाइटको स्विच दबाउँदै उद्घाटन गरेका थिए । इटहरीको होटल बरण्डामा आयोजित औपचारिक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले इटहरीलाई प्रविधिसँग जोड्ने काम गरेको बताउँदै अब इटहरीको ट्राफिक अस्तव्यस्ता हट्ने विश्वास व्यक्त गरे । प्रदेश १ सरकार अन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको बजेटमा ट्राफिक लाइट जडान गरिएको हो । 

उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीसँगै  प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेसमेत उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले पार्किङको कानून नहुँदा  धेरैले समस्या झेल्दै आउनु परेको अवगत गराउँदै मन्त्री घिमिरेले अब चाडै त्यो झण्झटको अन्त्य हुने जानकारी गराए । कार्यक्रममा प्रदेश १ प्रहरी प्रमुख सुदीप गिरी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा इटहरीका जनप्रतिनिधिले समेत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । हिजो मङ्गलबारबाट सुरु भएको स्मार्ट ट्राफिक लाइट सञ्चालनमा आएपछि पनि सवारी चालकहरुमा ट्राफिक सचेतना नभएका कारण व्यावस्थापन चुनौतीपूर्ण भएको छ । टाफिक लाइट हुँदा पनि इटहरीको चोकमा ६ जनाभन्दा बढि ट्राफिक प्रहरीहरु व्यवस्थापनमा खटिएका थिए ।

traffic light2