इटहरीः सोमबार विराटनगरको रोडशेष चौकबाट आफ्नै बाबुको काखमा रहेकी बालिकालाई खोसेर फरार भएकी महिला बालिकाका बाबु दीपेन्द्र यादवकै प्रेमिका भएको खुलेको छ ।
अपहरणमा परेको भनिएकी मोरङको बुढीगंगा गाउँपालिका –१ का दीपेन्द्र यादवकी एक वर्षीया छोरीलाई प्रहरीले भारतबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले भारतको दरभङ्गाबाट एक वर्षीया बालिकाको उद्धार गरेर विराटनगर ल्याएको हो । बच्चाको बाबुबाट बच्चालाई लिएर जाने महिला अञ्जली साहसमेत प्रहरी नियन्त्रणमा छिन् । अञ्जलीले बच्चालाई भारतको दरभङ्गामा आफन्तको घरमा राखेको पाइएको छ ।
अञ्जली सोमबार रोडशेष चौकबाट आफ्नै प्रेमी दीपेन्द्रलाई झुक्क्याएर बालिकालाई लिएर फरार भएकी थिइन् । बच्चालाई लिएर जाने अञ्जली दीपेन्द्रकी प्रेमिका रहेको खुलेको छ । लामो समयदेखि दीपेन्द्र र अन्जलीको ‘अफेयर’ (प्रेम सम्बन्ध) रहेको अनुसन्धानबाट खुलेको मोरङ्ग प्रहरीले बताएको छ । मेकानिकल इन्जिनियर रहेका यादवको विवाह तीन वर्ष पहिले भएको थियो । एक छोरीकी आमा दीपेन्द्रकी धर्मपत्नी ममता यादव बीबीए पढ्न काठमाडौँ गएपछि दीपेन्द्र र अञ्जलीको प्रेम फस्टाएको पाइएको छ ।
भेटघाट बाक्लै हुँदै थियो । यादवले छोरीलाई विराटनगर १२ रोडशेष चौकमा ल्याएर खाजा खुवाउने क्रममा अञ्जलीले औषधि किन्ने बहनामा छोरीलाई लिएर सम्पर्कविहीन भएकी थिइन् । यादवले चिया र चुरोट खान लाग्दा अञ्जलीले यादवको एउटा मोबाइलसमेत लिएर फरार भएको दीपेन्द्रले प्रहरीलाई बताएका थिए ।