काठमाडौँः शहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद भवनको मङ्गलबार बिहान निरीक्षण गरेका छन् ।  उनले निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशनसमेत दिएका छन् ।  

नयाँ बन्दै गरेको संघीय संसद भवनमा बानेश्वरको भन्दा केके थप सुविधा छन् भन्ने मन्त्री चौधरीको जिज्ञासामा आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठले भने, ‘भवन अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । दलका कार्यालयहरु, संसद सचिवालय, विकास समिति, सङ्ग्रहालय, पुस्तकालय, प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, भीभीआईपी भवन, आरामदायी लबी तथा वातानुकूलित कक्ष रहेका छन् ।’ 

भवनमा करिब ३ सय ५० गाडी अट्ने अण्डरग्राउण्ड पार्किङ र त्यति नै संख्यामा भवनबाहिर पार्किङको व्यवस्था, फोहरासहितको आकर्षक बगैँचा, आधुनिक सुरक्षा व्यवस्था, आगलागी नियन्त्रण, भूकम्प प्रतिरोधी, सिभेज ट्रिटमेन्ट प्लान्ट, १२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड पानी ट्याङ्की लगायतका थुप्रै सुविधा राखिएको छ । 

लागत खर्च, समयावधि र कार्य प्रगतिबारे मन्त्री चौधरीको जिज्ञासामा ठेकेदार कम्पनीका प्रतिनिधि काशीनाथ डोटेलले कोभिडका कारण सामग्री अभाव, एलसी खोल्न शतप्रतिशत मार्जिनको नयाँ प्रावधान, अनियन्त्रित मूल्यवृद्धि लगायतका कारण काममा ढिलाइ भएको बताए । 

२०७६ साल असोजबाट सुरु भएको भवन निर्माणको कुल लागत खर्च पाँच अर्ब दुई करोड रहेको छ । ३ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि कोभिडका कारण ६ महिना थप गरिएको हुँदा ०७९ चैत्रसम्म सकिनुपर्ने समयसीमा रहेको छ । आयोजना सुरु भएको ३ वर्ष पुग्नै लाग्दा हालसम्म जम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको टुन्डी शेक कम्पनीले बताएको छ । 

मन्त्रालयका सचिव डा.रमेशसिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगाल, उपमहानिर्देशक दिलिप भण्डारी, चक्रवर्ती कण्ठ र सचिवालयको टिमसहित भवन निर्माणस्थल पुगेका मन्त्रीले यति लामो अवधिसम्म पनि जम्मा ४५ प्रतिशत मात्र काम भएकोमा असन्तुष्टि व्यक्त गर्दै समयसीमाभित्रै तदारुकताका साथ काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।