काठमाडौँः काठमाडौँको बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा नेकपा एकीकृत समाजवादीको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका संघीय अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका कारणले स्थानीय तह सदस्य निर्वाचनमा पार्टीले कमजोर स्थान पाएको बताएका छन् ।

mkn1

गठबन्धनको भरोसा नभएको बताउँदै उनले निर्वाचन जित्न अरुको सहारा नलिई पार्टीलाई सुदृढ बनाई पार्टीकै बलमा निर्वाचनमा होमिनुपर्ने बताए । आत्मविश्वासका साथ पार्टीको सुदृढीकरणमा लाग्न उनले आग्रह गरे । आफ्नो शक्तिमा विश्वास नभएकाले मात्र अरुको भर पर्ने उनको भनाइ थियो । आफ्नै बलमा चुनाव जित्ने तयारी गर्न सके पार्टीले अप्रत्यासित पराजयको सामना गर्नुनपर्ने अध्यक्ष नेपालको जिकिर थियो ।

mkn2

गठबन्धनमा आबद्ध अन्य दलले विश्वासघात गर्दा र पार्टीभित्रैबाट अन्तर्घात हुँदा पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको उनले उल्लेख गरे । गठबन्धन निर्माणका क्रममा पार्टीबाट कमजोरी भएको स्वीकार गर्दै उनले समाजवादीले ठूलो स्थान बनाउन सक्ने भयले धेरैलाई आतङ्कित बनाएको जिकिर गरे ।