मेलम्चीः निरन्तरको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए । हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए ।

गएराति भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घरबाहिर बस्न बाध्य भएका थिए । गएराति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आससमा भारी वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा  भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । -रासस