काठमाडौँः शहरी विकास मन्त्री मेटमणि चौधरीले एउटा व्यक्ति वा एउटा सँस्थाले काम गरेर मात्र देश विकास सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् ।
शहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरुसँग मन्त्री कार्यक्रमको दोश्रो श्रृङ्खलामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरिङ पढेका विद्यार्थीहरुले आधुनिक र व्यवस्थित शहर निर्माणमा झनै ठूलो योगदान गर्न सक्ने बताउँदै उनीहरुसँग ठोस सुझावसमेत मागेका थिए ।
शहरी विकास मन्त्रीमा नियुक्त भएलगत्तै मन्त्री चौधरीले सबै तह र तप्काका नागरिकहरुसँग निरन्तर सुझाव लिने उद्देश्यले नै यस्तो कार्यक्रम तय गरेको सचिवालय प्रमुख भूमान्डप केसीले जानकारी दिए । कार्यक्रममा शहरी विकास, भवन निर्माणलगायत विषयमा स्नातकोत्तर गरेका विद्यार्थीको उल्लेख्य संख्यामा उपस्थिति थियो । त्यसैगरी कलेजका थुप्रै पूर्वविद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले शहरीकरण व्यवस्थित गर्नेबारे सुझाव दिनुका साथै सरकारी धारणासमेत मागेका थिए ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा.रमेश सिंह, सहसचिव पद्मकुमार मैनाली, पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख डा. इन्द्रप्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए ।