काठमाडौँः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा कमाएको पैसा विलासितामा खर्च भइरहेकाले त्यसलाई उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
चन्द्रलोक प्रतिष्ठानद्वारा शुक्रबार आयोजित ‘वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्य र समाधानका उपाय’ विषयक अन्तरक्रिया एंव् बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले विदेशमा दुःख गरेर कमाएको पैसा स्वदेशमा विलासिताका सामन किन्नमा खर्च भइरहेकाले त्यसलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने बताएका हुन् । उनले विदेशी पूँजी र र सीपलाइ देश निर्माणमा लगाउन सबैमा आग्रह समेत गरेका छन् ।
‘नेपालीहरुले दुःख गरी विदेशमा पैसा कमाउनुहुन्छ तर त्यो पैसा विलासिताका सामान किन्नमा खर्च भइरहेको छ । त्यो रकमलाई उत्पादनका क्षेत्रमा लगाउन सक्यो भने बिस्तारै विदेश जाने बाध्यता पनि हटेर जान्छ र त्यसले रोजगारी पनि सिर्जना गर्छ’, मन्त्री कुँवरले भने । नेपालीहरु वैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले विदेशमा कमाएको पैसालाई पनि त्यहीअनुसार उपयोग गर्नमा उनले जोड दिए । कार्यक्रममा बोल्दै मन्त्री कुँवरले गैरकानूनी रुपमा विदेश गएका कामदारहरुको शवलाई नेपाल ल्याउन नसकिरहेको अवस्थामा आफूले परराष्ट्र मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको समेत जानकारी दिए ।
वैदेशिक रोजगारको नाममा ठगिनेहरुको संख्या धेरै भएकाले यसबारे नागरिकहरु आफँै सचेत हुनुपर्ने मन्त्री कुँवरको भनाइ छ । विदेश जाँदा सबै जानकारी लिएर मात्र जान उनले आग्रह पनि गरे । रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै विभिन्न बहानामा ठगी गर्नेहरुलाई उजुरीका आधारमा सरकारले कार्यबाही गरिरहेको समेत मन्त्री कुँवरले बताए ।