इटहरीः अघिल्लो वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले कायम गरेको सेयर धितो कर्जाको सीमामा हेरफेर गरिएको छ ।
शुक्रबार प्रस्तुत भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एउटा बैंकबाट ४ करोड मात्र ऋण लिन पाउने सीमा खारेज गरिएको हो । अब सेयर धितो राखेर लगानीकर्ताले १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन् । सेयर धितो कर्जाको सीमा घटाएकै कारण लगानीकर्ता गभर्नर महाप्रसाद अधिकारीसँग रुष्ट बनेका थिए । लामो समय आन्दोलनसमेत गरेका लगानीकर्ताको माग अहिले आएर नयाँ मौद्रिक नीतिले समेटेको छ ।
यसअघि एउटा वित्तीय सँस्थाबाट ४ करोड र सबैबाट गरी कुल १२ करोड लिन पाइने व्यवस्था थियो । त्यसमा केही संशोधन गरेर एउटै बैंकबाट पनि १२ करोड लिन पाइने व्यवस्था गरिएको हो । यस्तै, सेयर धितो कर्जामा लागु गरिएको १५० प्रतिशतको जोखिम भारमा पनि केही संशोधन गरिएको छ । जसअनुसार २५ लाख रुपैयाँ सम्मको सेयर धितो कर्जामा जोखिम भार १ सय प्रतिशत कायम गरिएको छ । त्यसभन्दा बढीको कर्जामा १५० प्रतिशत जोखिम भार कायम हुनेछ । यसैगरी, मर्जर तथा एक्विजिसनमा जाँदा सेयर कारोबार रोक्का राखिने व्यवस्था केन्द्रीय बैंकले खारेज गरेको छ । अब धितोपत्र बोर्डले गरेको व्यवस्थाअनुसार सेयर कारोबार कति दिन रोक्का हुने भनेर निर्णय हुनेछ । यस व्यवस्थाबाट पूँजी बजारले भने राहत पाएको छ ।