इटहरीः नयाँ आर्थिक वर्षको तेस्रो हप्ताबाट २ वटा लघुवित्त वित्तीय सँस्थाको साधारण सेयर बाहिर आउने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको बैंकिङ्ग कारोबारका लागि इजाजत पाएका अभियान लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय सँस्थाले आईपीओ निष्कासन गर्न लागेका हुन् ।
अभियान लघुवित्त वित्तीय सँस्था लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आदर्शको आईपीओमा छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय सँस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत् आवेदन दिन सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।
त्यसैगरी, अर्को लघुवित्त कम्पनी धौलागिरी लघुवित्त वित्तीय सँस्था लिमिटेडले साउन २४ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।
यसअनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेछ ।
लघुवित्तले निष्कासन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत् आवेदन दिन सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।