इटहरीः राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको कम्पनीले निष्कासन गरेको आईपीओ  सोमबार (साउन ९ गते) बाँडफाँट गरिएको छ ।

१४ लाख ९१ हजार ७२२ जना लगानीकर्ताले आवेदन दिएकोमा  गोलाप्रथामार्फत् कुल २ लाख १७ हजार ६९४ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर हात पारेका छन् । उनीहरु सबैले १० कित्ताका दरले सेयर पाएका हुन् । आवेदन दिएकामा १ हजार ४२४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ जारी गरेको थियो ।

जसमध्ये ५% अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँट भएको हो । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, राप्ती हाइड्रोको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि आईपीओको रिजल्ट हेर्न पाइनेछ ।