काठमाडौँः शहरी विकास मन्त्री मेटमणि चौधरीले एक्लै हिँड्छु भन्ने नसोच्न मेयर तथा उपमेयरहरुलाई सचेत गराएका छन् ।
नगर विकास कोषको २०३ औँ बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले भने, ‘खासगरि २०७० पछिको मनोविज्ञान सहकार्यको छ । विकासका काममा काङ्ग्रेस र कम्युनिष्ट नभनी काम गर्नुपर्ने अवस्था छ । तपाईँहरु जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने लाग्या छ भने त्यो मनोविज्ञान त्याग्नुस् ।’
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ असार ३१ को निर्णयअनुसार नगर विकास ऐन २०७३ बमोजिम सञ्चालक समितिको सदस्यमा नियुक्त भएका सात प्रदेशका मेयर उपमेयर गरी सातै जनाको स्वागत तथा सपथग्रहण कार्यक्रममा मन्त्री चौधरीले दिर्नेशन दिँदै भने–‘एक्सन प्लान बनाएर काम गर्नुस् । प्रदेशकै प्रतिनिधित्व हुनेगरी नगर विकासका योजनाहरु बनाउनुस् । विज्ञहरुको सल्लाहमा काम गर्नुस् ।’ बहुपार्टी सँस्कारलाई अँगाल्नुपर्ने भन्दै मन्त्री चौधरीले सबैलाई मिलाउँदा मात्र नेता बन्न सकिने धारणासमेत राखे ।
कोषका अध्यक्ष एवं शहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रदेश १ बाट इलामको सूर्योदय गरपालिकाका प्रमुख रनबहादुर राई, मधेस प्रदेशबाट बोधिमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादव, बागमती प्रदेशको हेटौडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, लुम्बिनी प्रदेशबाट लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, कर्णाली प्रदेशबाट आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाही र सुदूरपश्चिम प्रदेशअन्तर्गत लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाही र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सञ्चालक समितिमा आएका सहसचिव प्रभुराम बिष्टलाई कोषका अध्यक्ष सिंहले स्वागत एवं सपथ गराएका थिए ।
कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषको कार्यक्षेत्र, सञ्चालन गरेका विकासका योजनाहरु, ऐन, नियम र समस्याबारे जानकारी गराएका थिए । कार्यक्रममा मन्त्रीका सचिवालय प्रमुख भूमाण्डप केसी र मन्त्रालयका अन्य कर्मचारीसमेतको उपस्थिति थियो । नगर विकास कोषमा १६ जनाको सञ्चालक समिति रहने व्यवस्था रहेको छ ।