इटहरी: जलविद्युत समुहको सयपत्री हाइड्रोपावरले भोलि साउन १३ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर बिक्री गरिसकेको कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५% अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २% अर्थात् १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

सयपत्रीको आईपीओ कम्तिमा १० कित्तादेखि ३० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिन्छ । तर सेयर बजारमा डिम्याट खाता धनीहरुको संख्या बढी हुँदा सेयर पर्ने सम्भावना भने कम हुन्छ ।  कम्पनीको आईपीओमा मेरो सेयरमार्फत् अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओमा बिक्री प्रबन्धक एनआइबीएलएस क्यापिटल रहेको छ । सयपत्रीले बाग्लुङ्ग जिल्लामा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।