इटहरीः बुधबारबाट बिक्री खुल्ला गरिएको अभियान लघुवित्त वित्तीय सँस्थाको आईपीओमा आवेदनको आइरो लागेको छ । 

सामान्यतया माग धेरै भएपनि उपलब्धता कम हुँदा लघुवित्त कम्पनीको आईपीओमा सर्वसाधारणको बढी आकर्षण देखिन्छ । बुधबार मात्र अभियान लघुवित्तको आईपीओमा ५१ करोड २८ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बुधबार साँझ ५ः०३ बजेसम्ममा ४ लाख ३८ हजार २५५ जनाले ५१ लाख २८ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ५.६१ गुण बढी आवेदन हो । कम्पनीले आज (साउन १८ गते) देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अङ्कित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको ।  

कुल निष्कासित सेयरमध्ये ५% अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने  बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिने छ  । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

 लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय सँस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।