चितवनः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन् । सञ्चारकर्मीसँग शनिबार चितवनमा कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए ।

‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ,’ उनले भने । तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले एक सय सिट पाउनुपर्ने उनको भनाइ छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनुप¥यो ।’ 

अहिलेको परिस्थितिमा सबै दलहरू कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो । संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनविरूद्ध एक भएका दलहरू एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए । 

यसैबीच नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको बताए । ‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनुपर्छ,’ उनले भने ।

देशलाई स्थिर सरकार दिन पनि पदाधिकारीहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो । फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भ्रातृ संस्थाहरूले साउन महिना भित्रै पूर्णता पाउने बताए । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचनपछि भ्रातृ संस्थाहरूको अधिवेशन हुने बताए । 

‘भातृ संस्थाहरूले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन्। भ्रातृ संस्थाको अधिवेशन निर्वाचन पछि मात्रै होला,’ उनले भने । -रासस