मकावानपुरः हेटौँडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोड रुपैयाँभन्दा बढी भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरुलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ । 

लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा रकमसहितको भुक्तानीका लागि बिल पठाएको हो । साउनभित्र भुक्तानी दिएमा बिलको रकममा तीन प्रतिशत छुट, असोज मसान्तसम्म बिलअनुसारको रकम र कात्तिकबाट जरिबाना हुनेसमेत  जनाएको छ ।

 हेटौँडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विडारीले केन्द्रीय कार्यालयको निर्णयानुसार उद्योगलाई बिल पठाइएको बताए । भाडा रकम नलिने अधिकार आफूहरुसँग नभएको भन्दै यथाशीघ्र रकम भुक्तानी गर्न उनले उद्योगीलाई आग्रह गरेका छन् । चार वर्ष अगाडि निर्णय भएको भाडा रकम उद्योगले भुक्तानी नगरेको पाइएकाले साउनभित्र भुक्तानी गर्न बिल पठाएको उनले बताए ।  

हेटौँडा औद्योगिक क्षेत्रको प्रतिरोपनी रु आठ हजार ३३१ तिर्दै आएका उद्योगले अब १९ हजार ६९१ का दरले प्रतिवर्ष भाडा भुक्तानी गर्नुपर्ने हुन्छ । कार्यालयले औद्योगिक क्षेत्रका १४९ उद्योगलाई पत्रसहित बिलसमेत पठाएको प्रमुख बिंडारीले बताए । लिमिटेडको निर्णयानुसार उद्योगले सो भाडा यसै महिनाभित्र तिर्नुपर्ने हुन्छ । आवश्यकताभन्दा बढी जग्गा लिएका उद्योगले उक्त जग्गा अन्य उद्योगलाई प्रयोग गर्न दिनुपर्नेसमेत उनको भनाइ छ । -रासस