काठमाडौँः शहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरुले जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् । 

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८÷७९ को वार्षिक प्रस्तुतीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हत्कडी लाउनसमेत तयार हुनुपर्छ ।’

जनताको काममा ढिलाइ गर्नै नहुने बताएका मन्त्री चौधरीले अहिले पनि नेपालमा दशकौँ पूरानो ३५ दिने सूचना निकाल्ने, लो बिडमा ठेक्का दिने, त्यसपछि सेटिङ र कमिसनमा जाने, डिपीआर सक्न महिनौँ लगाउने, काम समयमा सुरु नगर्ने, पैसा लिइहाल्ने, म्याद थप्ने, खर्च बढाउने जस्ता परिपाटी प्रचलनमै रहेको बताए । यस्तो प्रवृत्ति कायम रहे देश नबन्ने उनको भनाइ थियो ।

‘३५ दिने सूचना अवधिलाई ७ देखि १० दिनमा झारौँ । कम्तिमा २० दिनमा काम सुरु गरौँ । ठेकेदारले आयोजनालाई दुहुनो गाई बनाउने काम तत्काल रोकौँ ।’ शहरी मन्त्री चौधरीले थपे ।

पहिला शहर बसाउने अनि बल्ल डीपीआर तयार गर्ने प्रचलन रहेको बताउँदै उनले अब नयाँ ठाउँमा नयाँ शहर बनाउने र डीपीआर पूरा गरेपछि मात्र व्यवस्थित संरचना बनाउन सुरु गर्नुपर्ने धारणासमेत राखे ।