इटहरीः आगामी मंङ्सिर ४ गते एकै चरणमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा समाजवादी पार्टीबीच तालमेल हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज बिहान चुनावी तालमेलको सहमति भएको हो ।
“अध्यक्षज्यूहरूको बिहानको भेटले एकल चुनाव चिह्नमा लड्ने कुरा भएको छ । अहिले पार्टीको बैठक बस्दै छ । त्यसबाट निर्णय हुन्छ । त्यसपछि फेरि दुई दलको बैठक बस्छ,” समाजवादी पार्टीका एक नेताले भने ।
तत्कालका लागि तालमेल गरी चुनावमा सहभागी भएर चुनावपछि दुवै पार्टी एकीकरण गरी समाजवादी केन्द्र बनाएर सहकार्य गर्ने तयारी दुवै अध्यक्षहरुको रहेको बुझिएको छ ।