इटहरीः श्रम ऐनको पालना गर्दै श्रमिकका समस्यालाई सम्बोधन गर्न रोजगारदाता र ट्रेड युनियन सहमत भएका छन् ।

दुवै पक्षबीच पर्साको वीरगञ्जमा भएको छलफलपछि नौ बुँदे सहमति कायम भएको हो । सहमतिबमोजिम श्रम ऐन २०७४ मा भएको व्यवस्था अन्तर्गतका प्रावधानहरुमा न्युनतम तलब,पारिश्रमिक लागु गर्ने,सामाजिक सुरक्षा ऐनअनुसार उद्योग व्यवसाय क्षेत्रमा सामाजिक सुरक्षा व्यवसायजन्य स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गर्ने र उद्योग व्यवसायमा हरेक वर्ष श्रम ऐन अनुसारको श्रम अडिट गराइने भएको छ । श्रम क्षेत्रको समग्र व्यवस्थापनका लागि प्रदेश स्तरमा श्रम सल्लाहकार समिति गठनका लागि पहल हुने भएको छ ।

यसैगरी, रोजगारदाता र कामदारबीच स’धार गर्नका लागि समझदारीपत्र तयार गरी कार्यान्वयनमा ल्याइने सहमति पनि दुई पक्षबीच भएको छ । यसैगरी, राष्ट्र्रिय स्तरमा त्रिपक्षिय सम्यन्त्रको रुपमा स्वतन्त्र अधिकार सम्पन्न राष्ट्रिय श्रम आयोग यथासिघ्र गठन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन पनि दुवै पक्ष सहमत भएका छन् । प्रदेश स्तरमा औद्यागिक गतिविधिमा देखापर्ने समस्या छलफलका माध्यमबाट हल गरिने भएको छ ।

श्रमिकहरुलाई जीवनयापनमा सहजीकरण गर्न शिक्षा र व्स्वास्थ्यजस्ता आधारभूत सुविधा निःशुल्क उपलब्ध गराउने र पूँजी प्रवाह गरी उनीहरुलाई स्वरोजगार बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराइने भएको छ । श्रम र उद्योग क्षेत्रका साझा समस्याको पहिचान र निराकरणका लागि सहकार्य गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ । यसैगरी, श्रम,सामाजिक सुरक्षा ऐनमा देखा परेका समस्या समाधान गर्न छलफल गरी सुझाव दिने र बारा पर्सा औद्योगिक करीडोरमा औद्योगिक क्षेत्र स्थापनाको लागि सरकारसँग माग गर्न पनि दुवै पक्ष राजी भएका छन् ।