काठमाडौँः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बनिसकेको कम्युनिष्ट पार्टीलाई केपी ओलीले भताभुङ्ग पारेको बताएका छन् ।
पार्टीको उपत्यका युवा विशेष जिल्ला कमिटीको तिज विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्टहरू एकै ठाउँमा आउनुपर्ने र सबैलाई समेट्ने नेता चाहिने उल्लेख गर्दै भने, ‘ओलीले पार्टी फुटाएर संविधान कुल्चिए । संसद् विघटन गरे । अदालतको फैसलाको नाममा कम्युनिस्ट पार्टीलाई टुक्र्याइ दिए । हामी चट्टानी अडानमा उभिएर नयाँ पुस्तालाई अगाडि बढायौँ । हामीले देशभर संगठन बनाएर पार्टीको उपस्थिति देखाइसकेका छौँ ।’
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीको विकल्प नै नभएको बताउँदै चुनाव माध्यम र साधन मात्र भएको भन्दै जनतादेखि जनतासम्म पुग्नको लागि राजनीति गर्ने निर्देशन दिए । अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलन र पार्टीहरूमा विकृति फैलिएको बताउँदै ‘ मवादी ’ संस्कृति बढेकाले ‘हामीवादी ’ सोच नै हराइसकेको बताए । उनले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।
‘सबैले मम भनेर आफैले सुधारेर अगाडि बढ्नुपर्छ । बाटो बिराएको मान्छे जनताबाट अलग हुन्छ । अहिले ठुलो कुरा गर्ने तर पैसा देखेपछि लोभ गरिहाल्ने सँस्कृति बढेको छ । त्यसैले नेताहरूबाटै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा लाग्ने निर्णय गर्नुपर्छ । नेताले मात्रै होइन प्रधानमन्त्रीबाट पनि गर्नुपर्छ । नेता ठिक भइसकेपछि मात्रै अरु ठिक हुन्छ। नेता नै भ्रष्ट भएपछि अरुले टेर्न छाड्छन्। असल आदर्शमा लागे कसैले औँला उठाउन सक्दैन ।’ उनको भनाइ थियो ।
उनले आफूहरू आठ जना मिलेर २०३२ सालमा कोओर्डिनेसन केन्द्रको स्थापना गरेको बताए । जसमध्ये तीन जनाले राजनीति छाडेको र तीन जना एकीकृत समाजवादीमा रहेको पनि बताए । ‘केपी ओली त १२ वर्षपछि त्यो बेला जेलमा थिए उनी । को के बनेको १२ वर्षपछि बल्ल केन्द्रीय कमिटीका सदस्य बनेका हुन् । २०४४ सालमा उनी केन्द्रीय कमिटीका सदस्य बनेका हुन् २०३२ मा होइन,’ उनले भने ।कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको अध्यक्ष नेपालको दाबी छ ।