इटहरीः पाँच वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित रहेका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको उपचारका क्रममा गएराति निधन भएको छ ।

काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरीको गएराति ९ः३० बजे निधन भएको उपचारमा संलग्न चिकित्सक डा. पंकज बर्मनले जानकारी दिए । घाँटीको क्यान्सर अन्य भागमा पनि फैलिनुका साथै निमोनियाले जटिल रुप लिएपछि नेता गिरी साउन पहिलो साता मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

यसअघि भारतको दिल्लीमा उनको क्यान्सरको उपचार गरिएको थियो । सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेता गिरीको निधनले विचारको विश्वविद्यालय नै बन्द भएको बताए । गिरीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि अपराहन्न ४ः०० बजेसम्म पार्टी मुख्यालयमा राखी आजै अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।