इटहरीः नेपाली काङ्ग्रेसले दिवङ्गत नेता प्रदीप गिरीको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आइतबार (आज) बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मङ्गलबार गरी तीन दिन केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने  र श्रद्धाञ्जलिबाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरीको गएराति ९ः३० बजे निधन भएको उपचारमा संलग्न चिकित्सक डा. पंकज बर्मनले जानकारी दिए । घाँटीको क्यान्सर अन्य भागमा पनि फैलिनुका साथै निमोनियाले जटिल रुप लिएपछि नेता गिरी साउन पहिलो साता मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

यसअघि भारतको दिल्लीमा उनको क्यान्सरको उपचार गरिएको थियो । सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेता गिरीको निधनले विचारको विश्वविद्यालय नै बन्द भएको बताए । गिरीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि अपराहन्न ४ः०० बजेसम्म पार्टी मुख्यालयमा राखी आजै अन्त्येष्टि गरिनेछ ।

105cfe59-dad1-4d0e-b6d8-66c45a7e0ad2

ac52aedb-e7d3-4636-8aed-8483965565c0