इटहरीः निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचनमा उम्मेदवारवालाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव गरेको छ ।

दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाउने प्रस्ताव आयोगले गरेको हो । ‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने,’ निर्वाचन आचारसंहिताको प्रस्तावमा उल्लेख छ । दलीय उम्मेदवारहरुले प्रयोग गर्ने दलको भण्डा प्रयोगमा सीमा निर्धारण गरिएको भएपनि राष्ट्रिय झण्डा प्रयोगमा कुनै सीमा निर्धारण गरिएको थिएन ।

तर, कुनैपनि दलमा आबद्ध नभई स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरुले राष्ट्रिय झण्डा नै बोकेर प्रचारप्रसार अभियान चलाउन थालेपछि निर्वाचन आयोगले राष्ट्रिय झण्डाको प्रयोगमा पनि कडाइ गरेको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पनि काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह लगायतका स्वतन्त्र उम्मेदवारहरुले राष्ट्रिय झण्डाको प्रयोग गरी चुनाव प्रचार गरेका थिए । त्यसबेला कार्यविधि अभावमा राष्ट्रिय झण्डाको प्रयोग नियन्त्रण गर्न आयोगलाई कानूनी समस्या परेको थियो ।