इटहरीः नेपाल विद्युत प्राधिकरणले टंकिसिनवारी सबस्टेसन अन्तर्गतको ३३ केभी नेमुवा– टंकिसिनुवारीको साढे ८ सय मिटर प्रशारण लाइनमा टेलिस्कोपिक पोल राखेर तार टाँगेको छ । स्थानीयका अवरोधका कारण २०६४ सालदेखि अवरुद्ध प्रशारण लाइनमा टेलिस्कोपिक पोल राखिएको प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय प्रमुख सचिदानन्द यादवले बताए ।

उनका अनुसार टेलिस्कोपिक पोलमा बियर कन्डक्टर तार टाँगिएको छ । ११ वर्षदेखि अवरुद्ध लाइन पूरा हुनु वितरण प्रणाली सुधारमा ठूलो उपलब्धी भएको विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए ।
सिंहका अनुसार ३० देखि ३५ मिटर दुरीमा पोल राखेर लाइन निर्माण पूरा गरिएको हो । सो सबस्टेसनको विराटनगर ३ अन्तर्गतका ११ केभी फिडरहरुको वितरण प्रणालीमा सुधार भएको सिंहले बताए ।

यसअघि सिमेन्टको पोल डग कन्डक्टर राखेर विद्युत वितरण हुँदै आएको थियो ।
अब टंकिसिनुवारी, कटहरी, झोराहाट, विमानस्थललगायतका स्थानको भोल्टेजको समस्या समाधान हुने वितरण केन्द्रले जनाएको छ ।