इटहरीः लघुवित्त कम्पनी श्रृजनशील लघुवित्त वित्तीय सँस्था लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्ने बताएको छ । लघुवित्तले निष्कासन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्कासन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय सँस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत् आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पूँजी १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।